
मेरो बाआमा, गाउँको जोगी दाइ अनि बाँझो फुटाउने हली दाइको विज्ञताचाहिँ के हो नि ?
सञ्चार माध्यममा विभिन्न सूचना प्रकाशन तथा प्रसारण हुने गर्दछन् । त्यस्ता सूचनामध्ये २ खाले सूचनाहरु अलि फरक लाग्दछ । केही महिनाअघि नेपाल सरकारका २ वटा प्रतिष्ठित निकायले सूचना प्रकाशित गरे । एक विशेषज्ञहरुले आवेदन दिने र अर्को पुरस्कारका लागि दाबी गर्ने । पुरस्कारका लागि दाबी गर्नेसम्बन्धी सूचना त धेरै सरकारी तथा गैरसरकारी निकायले पटकपटक प्रकाशित गरिरहेका हुन्छन् । यस आलेखमा यी दुई सूचनाबारे संक्षिप्त चर्चा गर्ने कोसिस गरिएको छ ।
सामाजिक सञ्जालमा सूचना प्रकाशित भएको भेटियो । कुनै पत्रिकामा छापिएको विज्ञापन फेसबुकमा शेयर भएको देखियो । विशेषज्ञको सूचीमा दर्ता हुन आह्वान गरिएको थियो । आफ्नो विज्ञतासहितको विवरण ९ वटा बुँदामा लेख्नुपर्ने थियो । साथमा वैयक्तिक विवरण (बायो डाटा) पनि पठाउनु भनिएको थियो । राज्यको पहिचान प्राप्त प्रतिष्ठित संस्थाले गरेको यो सूचना धेरैलाई आकर्षित गराउने खालको छ । मलाई पनि आकर्षित गरायो । तर म आफैंलाई विश्लेषण गरी हेरेँ ।
आफैंले घोत्लेर विशेषज्ञका सूचकहरु बनाउन थालेँ । बनाएको सूचकका आधारमा म विशेषज्ञ हो कि होइन भनी जाँचे । म दुविधामा परेँ । राज्यको नीतिनिर्माण तहमा सुझाव दिन सक्ने हैसियत बोकेको विशेषज्ञ म हुन सक्दिन भन्ने निष्कर्षमा पुगेँ । आवेदन हाल्ने कोसिस नै गरिनँ । अनि विशेषज्ञ हो कि होइन भनेर कसले छुट्टयाउने होला । आधार के होलान् भन्ने कौतुहलता बढ्योे । यसको चित्त बुझ्दो जवाफ अझै भेटेको छैन ।
आफैंलाइ जाँच गरिरहँदा, मनमा भने अनेक कुरा खेल्यो । म के कुरामा जान्ने छु ? कुनै विषयमा पनि पाइनँ । मैले कुनै काम सम्पादन गर्नु प¥यो भने कति धेरैको सहयोग आवश्यक पर्दछ । अनि, म कसरी विज्ञ भएँ ?
मैले केही वर्षअघि बुवाआमाको घर जाँदाको एक घटना सम्झिएँ । त्यो दिन राति ९ बजेतिर मेरो छिमेकी गाउँ मकैबारीका एक मान्छे हाम्रो घर आए । उनी जोगी थिए । फेरी लगाउँथ्ये । मन्त्र भन्दै सिंङ्ग बजाउँदै घर ३ पटक घुमे । अनि एक क्षण हामीसँग गफिए । म काठमाडौंबाट गएकाले सम्मानसहित सञ्चो बिसञ्चो सोधे । मैले पनि उनको घरपरिवारको कुरो सोधेँ । छोराछोरीको पढाइ सोधेँ । उनको नजरमा म ठूलो जान्ने मान्छे थिएँ । उनले भनी पनि हाले हजुरहरु जस्तो हुन पाएको भए पो । मैले नसके पनि छोराछोरीलाई चाहिँ हजुरहरु जस्तै बनाउने विचार छ ।
मभन्दा उनी नै सवल, सक्षम र जान्ने छन् भनेर सहमत गराउन कोसिस गरेँ । मैले प्रपोजल लेखेर पैसा ल्याएर आफू पनि पालिने अरुलाई पनि पाल्ने काम गर्दथ्येँ । यस काममा १० जनाभन्दा बढीको प्रत्यक्ष सहभागिता हुन्थ्यो । यी मेरा स्रोतहरु अरुले पैसा लगानी गरेमात्र हुन्छन् । यदि बाह्य स्रोत आउन सकेन भने मेरो जीविका चल्न सक्दैन । तर उनी आफंै सबै काम सम्पादन गर्न सक्दछन् ।
सिङ्ग बोक्छन्, रातभर घरघर घुमेर फेरी लगाउँछन् । बिहान तीनै घर गएर सिदा दक्षिणा लिन्छन् । आफ्नो जीवन चलाउँछन् । परिवार पाल्छन् । बालबच्चा पढाउँछन् । मभन्दा उनी नै जीवन जीउनका लागि जान्ने मान्छे हुन् । मेरो तुलनामा उनी नै विज्ञ हुन् । मभन्दा उनी आत्मनिर्भर छन् । म धेरै हदसम्म परनिर्भर अझ सुधारिएको भाषामा भन्नु पर्दा अन्तरनिर्भर छु । म कसरी जान्ने भएँ ? जीवन बाँच्न चाहिने उत्पादन गर्नेको विज्ञता कहाँ दर्ता हुने ?
मेरो आमालाई भात पकाउँदा पानीको मात्रा मिलाउन कपले नाप्नु पर्दैन । हेरेर नै थाहा पाउनुहुन्छ, नभए पनि औंलो चोपेर ठ्याक्कै मिलाउनु हुन्छ । अहिले जस्तो प्रेसर कुकर थिएन, २ सिठ्ठीमा भात पाक्छ भनी ठम्माउनलाई । तैपनि मेरो आमाले अब पाक्यो भनेर आगो निभा भनेर अराउनु हुन्थ्यो । अहिलेको जस्तो सलाई लाइटर थिएन ।
बिहानदेखि बेलुका अनि बेलुकाबाट बिहानसम्म अँगेनामा आगो लुकाएर राख्न सक्नु हुन्थ्यो । अनुमान गरौं आगो नै जस्ताको तस्तै राख्ने प्रविधि अपनाउने हाम्रो आमा विशेषज्ञ हैन त ?
कुन रुखबाट गोल राम्रो आउँछ भन्ने कुरा त्यही काम गर्नेमात्र जान्दछ । दाउरा चिर्ने कामको विशेषज्ञता दाउरेसँग मात्र छ । कुन जडिबुटी कहाँ पाइन्छ त्यसको मात्रा के हो भन्नेबारे वैद्यले जान्दछ ।
एउटा किसानले कहाँ राम्रो उत्पादन हुन्छ भन्ने कुरा जान्दछ । कति मल पानी चाहिन्छ उसले परैबाट जान्दछ । ऊ विज्ञ हो । यस्ता विशेषज्ञले आवेदन कता हाल्ने होला ?
जीवन जिउनका लागि उत्पादन गर्ने विज्ञ भएनन् तर जिउनका लागि प्रयोग नहुने अक्षरको खेती गर्ने चाहिँ विशेषज्ञ कहलिए । अक्षरका खेती गर्नेहरुले आफ्नो सोधपत्र तयार गर्न तिनै गाउँलेसँग सोध्न जान्छन् । मेरो एक जना मित्र छन् कमल भण्डारी उनीले बेला बेलामा भन्ने गर्दछन्, “मैले धेरै जनाको विद्यावारिधि गराइसकेँ, धेरैलाई डा. बनाइसकेँ । म किन डा. बन्नु प¥यो ?” । हो, उनले धेरै पीएचडी स्कलरको सोधपत्रका लागि चाहिने सूचनाहरु संकलन गरिदिन्थ्ये ।
उनी वा उनका साथीहरु गाउँमा गएर उपलब्ध प्रश्नहरु सोधेर ती सूचना व्यवस्थित गरिदिन्थ्ये । तिनै सूचनाका आधारमा सोधपत्र तयार हुन्थ्यो अनि डा. पद्वी हासिल हुन सहयोग पुग्थ्यो । यो प्रक्रियालाई आधार मान्दा ज्ञानको स्रोत ग्रामीण तह वा समुदायमा छ भन्दा कुनै फरक पर्दैन । त्यसैले विशेषज्ञ को ? प्रश्न वाचक चिन्ह कायमै छ ।
विज्ञ आफंैले दाबी गर्ने कि अर्कोले भन्ने हो ? दुविधा यहीनेर हो । कसैले आफैंलाई शिक्षा विज्ञ, कृषि विज्ञ, कानुन विज्ञ यस्तै यस्तै लेखेको देखिन्छ । त्यसरी आफैंले लेख्न सुहाउला र ? कसैले प्राकृतिक स्रोत विज्ञ भन्यो भने उसको पानी विज्ञ हो कि वन विज्ञ हो ? वनको विषयमा हो भने पनि प्राविधिक हो कि सामाजिक हो ? सामुदायिक वन विज्ञ हो कि ? धार्मिक वनको पो हो कि ? वा साल विज्ञ हो कि ? अनेक प्रश्न जन्मिन्छ । त्यसैले यो विशेषज्ञता तोकिदिने को होला ? अहिले बजारमा भनिए जस्तो विज्ञ छन् त ? बरु सो विषयको शोधकर्ता भन्नु ठीक होला ।
त्यस्तै, अर्को सूचना हेर्न पाइन्छ, पुरस्कारका लागि दाबी गर्ने बारे । जागिर खाने खोजे जस्तो निवेदन दिनु पर्ने । सूचनामा भनिएको हुन्छ, “आफूले गरेको कामको प्रमाण पुग्ने गरी सामग्री तयार गरी तोकिएको मितिसम्म निवेदन दर्ता गर्नु होला ।”
आफैं विज्ञ हुँ भनी निवेदन हाल्ने र पुरस्कारका लागि आवेदन हालेर प्रमाण पेश गर्ने काम उस्तै लाग्दछ । पुरस्कारका लागि निवेदन दिनुभन्दा बरु विज्ञको दाबी गर्नु एक हदसम्म सही हुनसक्छ । पुरस्कारका लागि सम्बन्धित व्यक्तिले नै प्रमाणसहित दाबी गर्ने पटक्कै सुहाउने काम होइन । पुरस्कार कसैले गोप्य रुपमा पहिचान गरेर दिए पो त्यसको महत्व हुने थियो । पुरस्कार पाउने सम्बन्धित व्यक्तिले पनि एक्कासि थाहा पाओस् । त्यसको मजा पक्कै गजव हुन्थ्यो होला नि ।
पुरस्कार दिने अल्छी भएर हो कि ? किन यस्तो झारा टार्ने काम गर्ने चलन चलेको होला । बरु हरेक वर्ष नदिनु नि तर दिने, लिने र सुन्नेलाई पनि कौतुहलता होस् । अहिले चलेको यो प्रक्रियाले पुरस्कार प्राप्त गर्न लायक व्यक्तिको अपमान गरेको जस्तो देखिन्छ ।
यस्तो सूचनामा क्षमता भएकाले पक्कै निवेदन हाल्न रहर गर्दैनन् होला । नगरेको काम पनि मिलाएर बनाउनेमात्र कस्सिन सक्छन् । आफूले आफैंलाई म सक्षम छु भनेर जागिर वा ठेक्काका लागि पक्कै सुहाउँला । पुरस्कारका लागि त सिफारिस गर्न आह्वानसम्म गर्नु चाहिँ ठीक हो । सम्बन्धित विषयका सरोकारवाला निकाय वा व्यक्तिले पनि हुन सक्छ, त्यस पुरस्कारका लागि लायक व्यक्ति वा संस्थालाई सिफारिस गर्न आह्वान गर्नु सान्दर्भिक हुन्छ ।
आफैंले दाबीसहित निवेदन दिएपछि भनसुनका कुरा पनि चल्दा हुन् । त्यसैले सबैभन्दा उत्तम तरिका भनेको पुरस्कार दिने आफैंले एक टोली बनाएर आफ्नो उद्देश्यअनुसारको खोजोस् । अनि नाम घोषणा गरोस् । नभए पनि यो आधार पुगेकालाई सिफारिस गर्न आव्हान गरोस् । त्यसका आधारमा छानबिन गरोस् । घोषणा गरोस् । आहा कति सान र मान हुन्थ्यो होला, त्यस्तो पुरस्कार लिँदा र दिँदा ।